नेकपा (एमालें) का केन्द्रीय उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विकास र राजनितिलाई सँगसँगै लैजानुपर्ने बताउनुभएको छ । पुर्व उपप्रधानमन्त्री समेत रहेका पौडेलले च्यासलको नीति सिहदरबार, बुटवलको निर्णय देउखुरि र हरेक पलिकाको नीति स्थानिय सरकारमा लैजानेगरि निर्वाचन जितेर मात्रै जनताको अपेक्षा पूरा गर्न सकिने बताउनुभएको थियो । पौडेलले सबै नेता कार्यकर्ता विकाससँग जोडिदै जान पनि आग्रह गर्नुभएको थियो ।
तिलोत्तमाको योगिकुटीमा रहेको होटल पौवामा एमाले रुपन्देही जिल्ला कमिटीको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई दिदै वहाँले एकताबद्ध भएर काम गर्न पनि निर्देशन दिनुभयो । जिल्ला अधवेशनले पार्टी पंक्तिलाई उत्साहित र प्रतिस्पर्धीलाई निराश बनाएको बताउनुभएको थियो ।अधिवेशनले पार्टीको जीवनमा नयाँ जोश सञ्चार गरेको बताउँदै उहाँले अझ एकताबद्ध र सशक्त पार्टी निर्माण भएको बताउनुभयो । ‘पार्टीमा अन्तरविरोध र अलमल हुने छैन अब अग्रगति र प्रगति हुनेछ’ नेता पौडेलले भन्नुभयो । एकताको तागत अतुलनीय हुन्छ भन्ने कुरालाई व्यवहारिक बनाउन उहाँले नयाँ निर्वाचित कमिटीलाई निर्देशन पनि दिनुभएको थियो । गुण र दोष दुबै थाहा पाएका आफ्नै कमरेडलाई एकआपसमा दोषारोपण गरेर होइन, हरेकले गुणलाई आत्ससात गरेर कमिटीलाई चलायमान बनाउनुपर्छ । रुपन्देहीको पार्टी पंक्तिको प्रभावकारी परिचालन गर्ने, विकास निर्माणका काममा निगरानी र खबरदारी गर्ने, फराकिला सम्भावनालाई साकार पार्ने, आन्तरिक एकतालाई बलियो बनाउने, संगठनलाई सुदृढ, गतिशील र अनुशासित बनाउने, गुणस्तरीय संगठन, नेता कार्यकर्ता रहेको पार्टी बनाउने जिम्मेवारी र फराकिलो जनाधार बनाउने जिम्मेवारी नयाँ कमिटीको काँधमा रहेको बताउदै सो अनुरुप अगाडि बढ्न आग्रह समेत गर्नुभएको थियो । वहाँको भनाई थियो – ‘हामीले गरेका तमाम कामलाई जनताका सामू पुर्याउन सकेका छैनौं । विकास र राजनीतिलाई जोडेर लानुपर्छ । विकास र राजनीतिलाई जोडेर अगाडि बढ्नुपर्छ । जनताका सुखदुःख संग, जनताका खुशीयालीसँग, जनताका समस्यासंग जोडिएको राजनीति गर्नुपर्नेछ ।’
नेकपा एमालेका नेता कार्यकर्ता उत्पादनसँग जोडिनुपर्ने पार्टीका पोलिटब्युरो सदस्य लिला गिरिले बताउनुभएको थियो । एमाले रुपन्देहीको नवनिर्वाचित पदाधिकारि तथा सदस्यहरुलाई सपथ ग्रहण पश्चात् शुभकामना तथा बधाई मन्तब्य राख्दै लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री समेत रहेका गिरिले पार्टीका हरेक कार्यकर्ता उत्पादनसँग जोडिदै राजनितिमा क्रियशिल हुनुपर्ने बताउनुभएको थियो । वहाँले रुपन्देही जिल्लालाई एमालेको लाल किल्ला बनाउनेगरि अगाडि बढ्न नवनर्वाचित कमिटीलाई आग्रह गर्नुभएको थियो । वहाँले नेता कार्यकर्ताले आवश्क निर्णय गर्दा तल्लो कमिटी सधै माथिको नेताको आदेश कुरेर बस्न नपर्ने र जनपक्षिय निर्णय गर्दा सधै अग्रसर भई गर्न पनि आग्रह गर्नुभयो । उहाँले पार्टीका नेता र जनप्रतिनिधिबिच तालमेल नहुदा धेरै कामको उठान नभएकोले पार्टी कमिटी र पार्टीका तर्फबाट तिनै तहका सरकारमा सहभागी जनप्रतिनिधिबिच तालमेल जरुरि रहेको पनि बताउनुभयो ।
पार्टीका पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले पार्टीको नीति तथा सिद्धान्तलाई जनताको जीविकोपार्जनसंग तारतम्य मिलाएर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
पार्टीका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले नवनिर्वाचित कमिटीलाई बधाई तथा शुभकामना दिंदै अबको नेतृत्वले थप कुशलता पूर्वक काम गर्नुपर्ने बताउनुभएको थियो । एमाले रुपन्देहीका निर्वतमान जिल्ला अध्यक्ष तेजेन्द्र के.सी.ले २५ वर्ष जिल्ला कमिटीमा काम गरेको र आगामी दिनमा आफुले प्राप्त गरेको अनुभवका आधारमा नवनिर्वाचित कमिटीलाई आवश्यक पर्दा सहयोग गर्न आफु जुनसुकै बेला पनि तयार रहेको बताउनुभएको थियो ।
पार्टीका नवनिर्वाचित अध्यक्ष यज्ञ गैरेले आगामी दिनमा पार्टीलाई थप शसक्त र बलियो बनाउन आफु प्रतिवद्ध रहेको बताउँदै आगामी कार्यकालमा गर्नुपर्ने कामको विषयमा संक्षिप्त रुपमा प्रतिवद्धता समेत ब्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिव चित्रबहादुर कार्कीले गर्नुभएको थियो ।