detail-img

लुम्बिनीको बजेट ३८ अर्ब ९५ करोड

लुम्बिनी सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि ३८ अर्ब ९५ करोड ९५ लाख ३६ हजार रुपैयाँको बजेट प्रदेश सभामा प्रस्तुत गरेको छ ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री चेतनारायण आचार्यले शनिबारको प्रदेश सभा वैठकमा उक्त बजेट प्रस्तुत गरेका हुन् ।
कृषि, स्वास्थ्य, पर्यटन र पुर्वाधारका अधिकांश पुराना र अधुरा आयोजना तथा कार्यक्रमलाई प्राथमिकता दिएर बजेटमा रकम विनियोजन गरिएको छ ।

राजश्व संकलनमा आएको कमीका कारण प्रदेश सरकारले बजेटको आकार गत वर्ष भन्दा २ अर्बले घटाइएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०–८१ का लागि ४० अर्ब ४६ करोड ८९ लाख ५७ हजार रुपैयाँको बजेट ल्याएको थियो ।

बजेटमा प्रदेश सञ्चित कोषमाथि व्ययभार हुने रकमतर्फ १ करोड ४ लाख ६४ हजार विनियोजन गरिएको छ । यस्तै आगामी आर्थिक वर्षको कूल खर्च ३८ करोड ९७ करोड विनियोजन गरिएको छ ।

विनियोजन रकममध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख रुपैयाँ र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ छ । यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ छुट्याइएको छ ।

आगामी वर्षमा अनुमान गरिएको खर्च ब्यहोर्ने स्रोत आन्तरिक राजश्वमार्फत ७ अर्ब ५१ करोड र संघबाट प्राप्त हुने राजश्वमार्फत १२ अर्ब १ करोड र संघबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजश्व २ अर्ब ९२ करोड हुने अनुमान गरिएको छ ।

बजेटमा लुम्बिनी प्रादेशिक अस्पतालको १२ सय शय्याको भवन बनाउन एक अर्ब ८० करोड विनियोजन गरिएको छ । यस्तै सोही अस्पतालमा एमआरआई मेसिन खरिद गर्न १५ करोड छुट्याइएको छ ।

बजेटमा हाल कार्यान्वयनमा रहेको सम्वद्र्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रमलाई थप सय वटा वन समुहमा बिस्तार गरी यसलाई प्रदेश सरकारको राजश्वको प्रमुख श्रोतको रुपमा अगाडि बढाइने बजेटमा उल्लेख छ ।

बजेट वक्तव्यमा कृषि कर घटाइने आर्थिक मामिला तथा योजना मन्त्री आचार्यले उल्लेख गरेका छन् । बजेटमाथि सैद्धान्तिक छलफल असार ६ र ७ गते हुने छ ।

लुम्बिनीको बजेटमा नारैनारा, प्राथमिकतामा टुक्रे आयोजना

यस्ता छन् बजेटमा समेटिएका प्रमुख नारा

  • समृद्ध लुम्बिनी ,आत्मनिर्भर प्रदेश
  • किसानको हात, प्रदेशको साथ
  • स्वस्थ्य जीवनको साथ, माटोको सुधार
  • मेरो स्वास्थ्य सुधार, मेरो जिम्मेवारी
  • शैक्षिक गुणस्तरमा सुधार, भविष्यको आधार
  • पर्यटनसँग वन समृद्धिको आधार
  • ब्याक टु कल्चर, ब्याक टु नेचर
  • एक वडा, एक पोखरी
  • नदीजन्य पदार्थ राजस्वको प्रमुख आधार
  • वन्यजन्तु पीडितसँग प्रदेश सरकार
  • एक घर एक धारा, जनतासँग प्रदेश सरकार
  • कृषिको आधार, सिंचाइमा सुधार
  • खेतबारीका गरा, सधैं हराभरा
  • उज्यालो प्रदेश, लुम्बिनी प्रदेश
  • स्वच्छ भान्सा, सबैलाई आनन्द
  • प्रविधिमैत्री लुम्बिनी अहिलेको आवश्यकता
  • भ्रष्टाचार नियन्त्रणमा शून्य सहभागिता

यस्ता छन् बजेटका प्रमुख विशेषता

लुम्बिनी सरकारले नयाँ योजनाभन्दा अधिकांश पुराना र साना योजनालाई प्राथमिकता दिएको छ । सरकारले चालू आर्थिक वर्षमा भन्दा डेढ अर्ब कम ३८ अर्ब ९५ करोडको बजेट ल्याएको हो । आर्थिक मामिलामन्त्री आचार्यले कुल विनियोजनमध्ये चालूतर्फ ११ अर्ब २४ करोड २७ लाख र पूँजीगतर्फ २४ अर्ब ५८ करोड रुपैयाँ विनियोजन गरेका छन् । यस्तै वित्तीय हस्तान्तरणका लागि ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

आगामी वर्षमा अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत आन्तरिक राजस्वमार्फत ७ अर्ब ५१ करोड र सङ्घबाट प्राप्त हुने राजस्वमार्फत १२ अर्ब १ करोड र सङ्घबाट प्राप्त हुने रोयल्टी ५० करोड र स्थानीय तहबाट प्राप्त हुने राजस्व २ अर्ब ९२ करोड हुने अनुमान अर्थमन्त्री आचार्यको छ ।

प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८०/८१ का लागि कुल ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको थियो । संघीय सरकारले दिने अनुदान र प्रदेशको राजस्वको स्रोत पनि वृद्धि नभएका कारण गत वर्षभन्दा बजेट बढाउन नसकेको मन्त्री आचार्यको भनाइ छ ।

  • ५२ वटै प्रदेश निर्वाचन क्षेत्रमा एक बहुवर्षीय आयोजना
  • प्रदेश निजामती र स्थानीय सेवाका कर्मचारीको अभिलेखीकरण गरी व्यवस्थापन
  • स्थानीय तहको जनशक्ति व्यवस्थापन गर्न कानून बनाइ कार्यान्वयन गरिने
  • प्रदेश लोकसेवालाई आवश्यक बजेट व्यवस्थापन
  • बसाइसराइ रोक्न पहाडमा विशेष योजना
  • स्थायी राजधानीमा संरचना निर्माण चालू वर्षमै सकिने
  • लुम्बिनी बौद्ध आर्थिक शिखर सम्मेलन
  • रुपन्देही, कपिलवस्तु र नवलपरासीमा पर्यटन प्रवर्द्धन गर्ने योजना
  • लुम्बिनी प्रादेशिक अस्पताललाई १ अर्ब ८० करोड
  • जिल्ला समन्वयलाई क्रियाशील बनाउन ५ लाख
  • प्रदेश पूर्वाधार प्राधिकरणलाई विशेष प्राथमिकता
  • नवप्रवर्द्धन साझेदारी कार्यक्रम निरन्तरता
  • प्रदेश सुशासन केन्द्रलाई विशेष प्राथमिकता
  • राप्तीमा कर्मचारीलाई शुक्रबार र आइतबार निःशुल्क बस सेवा
  • कर्मचारीलाई आन्तरिक पर्यटन काजलाई निरन्तरता
  • सबै आन्दोलनमा शहीद, घाइतेको अभिलेखीकरणका लागि ५ करोड
  • साइबर सुरक्षाका लागि विशेष योजना
  • स्थानीय तहमा विपद व्यवस्थापन योजना
  • प्रदेश प्रहरी ऐनअनुसार अघि बढाउने विशेष योजना
  • भारतसँग सीमा जोडिएका ६ जिल्लामा बीओपी भवन निर्माण र स्तरोन्नति
  • रुकुमपूर्वका ७ वटा वडामा सडक ट्याक खोलिने
  • सिंचाइका लागि थप १४ सय हेक्टरमा व्यवस्था गरिने
  • थप २५ सय हेक्टरमा १२ महिना व्यवस्थापन
  • दुर्घटना रोक्न चालक सचेतना
  • रामपुर-जिनावाङ सडक पूरा गर्न विशेष प्राथमिकता
  • चरंगे-झुम्सा सडक स्तरोन्नति
  • १७ वटा मुख्य सडकको स्तरवृद्धि योजना
  • पर्यटन पहुँचमार्ग विस्तार योजना
  • घरबास सबलीकरण योजना
  • सांस्कृतिक डबलीकरण स्थानीय तहलाई हस्तान्तरण
  • विदेशमा सिकेकाहरुको सीप परीक्षणसहितको तालिम
  • सुरक्षित आप्रवासन कार्यक्रम सबै जिल्लामा
  • सहकारी समस्या समाधान गर्न सहकारी ज्ञान अगाडि
  • वन सम्पदालाई राजस्वको प्रमुख स्रोत
  • बन जोगाउने विशेष अभियान
  • नदीजन्य पदार्थ राजस्वको प्रमुख आधार
  • लुम्बिनी प्रादेशिक र राप्ती प्रादेशिक अस्पताललाई विशेष प्राथमिकता
  • विपन्न नागरिकलाई दम तथा ब्रोन्काइटिस्टमा उपचार
  • मृगौला रोगीलाई डायलाइसिस सेवा दिइने
  • आँखाको नानी निःशुल्क
  • आयुर्वेद उपचारका लागि प्रादेशिक अस्पतालमा विशिष्टीकृत सेवा र पञ्चकर्म
  • लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई ९ करोड
  • पर्यटक तान्न हिल स्टेशन
  • स्वर्गद्वारी, सुपादेउराली, रेसुंगालाई विशेष प्राथमिकता
  • अन्तरप्रदेश पर्यटन विस्तार
  • शालिग्राम पर्यटन गर्ने योजना
  • जडीबुटी खेतीलाई विशेष प्राथमिकता
  • वन्यजन्तुबाट पीडितसँग प्रदेश सरकार
  • एक घर एक धाराका लागि १ अर्ब ३० करोड
  • कृषि, शिक्षालाई विशेष प्राथमिकता