detail-img

आर्थिक क्रियाकलाप पारदर्शी र सहज बनाउन एमाले लुम्बिनीद्धारा २ दिने प्रशिक्षण सम्पन्न

बुटवल। नेकपा (एमाले) लुम्बिनीले आफु मातहतका १२ वटै जिल्लामा पार्टीको आर्थिक क्रियाकलापलाई पारदर्शी र सहज बनाउन लेखा ब्यवस्थापन सम्बन्धि २ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश अन्तर्गतका १२ वटै जिल्लाका अध्यक्ष, वित्त तथा कोष ब्यवस्थापन विभागका प्रमुख, लेखा कमिटी अध्यक्ष र हरेक जिल्लाका कार्यालय सचिवहरुको सहभागितामा पौष ४ र ५ गते प्रदेश कार्यालय बुटवलमा प्रशिषण कार्यक्रम आयोजना गरेको थियो । 

लेखा ब्यवस्थापन तालिमको औपचारिक शुभारम्भ गर्दै पार्टी केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पदमा अर्यालले पार्टीलाई बलियो राष्ट्रिय शक्ति बनाउने सन्दर्भमा गर्नुपर्ने काममध्ये आर्थिक अनुशासन, आचरणगत शुद्धता पनि एउटा महत्पूर्ण काम भएको बताउनुभयो । इन्चार्ज अर्यालले पार्टीपङ्तीमा देखिने सानातिना आर्थिक विचलनलाई समेत यसले सच्याउने विश्वास व्यक्त गर्नुभयो । वहाँले मुलुकको वर्तमान राजनीतिक कोर्शका बारेमा चर्चा गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वर्तमान सरकार गठन भएयता अर्थतन्त्रमा गतिशिलता शुरु भएको र बाह्य सम्बन्ध सन्तुलनमा ल्याउन महत्वपूर्ण काम भएको बताउनुभयो । 
प्रशिक्षण कार्यक्रममा निम्न उल्लेखित विषयमा प्रशिक्षण दिइएको थियो । 
राष्ट्र निर्माण, पार्टी निर्माण र पार्टीभित्रको आर्थिक काम – डा.पुष्प कँडेल (केन्द्रीय लेखा आयोग अध्यक्ष) 
पार्टीको आर्थिक व्यवस्थापन सम्बन्धी नीति, नियमहरु – डा.पुष्प कँडेल (केन्द्रीय लेखा आयोग सचिव) 
लेखापरीक्षण कार्यविधि, निर्देशन तथा प्रतिवेदनहरु – मिनराज कँडेल (केन्द्रीय लेखा आयोग सदस्य) 
लेखा ढाँचा, व्यवहारिक, तथा प्रयोगात्मक पक्ष – बद्रिप्रसाद भट्टराई (केन्द्रीय लेखा आयोग सदस्य) 
लेखा सम्बन्धी ब्यावहारिक ज्ञान – टिकाराम भट्टराई (प्रदेश लेखा कमिटी सदस्य)  
कार्यक्रमको सुरुवातमा १२ वटै जिल्लाको आर्थिक अवस्थाको बारेमा संक्षिप्त रिपोर्टिङ्ग प्रस्तुत गरिएको थियो भने बुटवल र नेपालगञ्ज उपमहानगरपालिकाका अध्यक्षहरुले समेत आफ्नो कमिटीको आर्थिक अवस्थाको बारेमा बताउनुभएको थियो । भने लेखा आयोगका केन्द्रीय अध्यक्ष डा.पुष्प कँडेलले सबै कमिटीको आर्थिक कारोवार डिजिटल सफ्टवेयरमा लैजाने तयारी भएको बताउनुका साथै सबै जिल्ला र सो मातहतका कमिटीहरुको लेखा परिक्षण समयमे गर्न र गराउन समेत निर्दशन गर्नुभएको थियो । 

कार्यक्रमको बारेमा अन्तिममा रुपन्देही जिल्ला कमिटी अध्यक्ष यज्ञ गैरे र बाँके जिल्ला कमिटी अध्यक्ष निरक गुरुङ्गले संक्षिप्त भनाई राख्नुभएको थियो । प्रशिक्षण कार्यक्रम नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेलको अध्यक्षता, उपाध्यक्ष भोजप्रसाद श्रेष्ठको स्वागत र सचिव लक्ष्मण आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो भने सोही कार्यक्रमा केन्द्रीय लेखा आयोग अध्यक्षले लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०८०।०८१ को लेखा परीक्षण प्रतिवेदन कमिटीका इन्चार्ज र अध्यक्ष समक्ष हस्तान्तरण समेत गर्नुभएको थियो ।